चितवन । काठमाडौं फर्कने यात्रुसँग बढी भाडा लिएको गुनासोपछि चितवन प्रशासनले अनुगमन गरी बढी भाडा लिने सवारीसाधनका चालक र धनीलाई कारबाही गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा अनुगमनमा गएको सुरक्षा निकायका प्रमुखसहितको टोलीले उनीहरूलाई कारबाही गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार, नारायणगढको पुलचोक, पोखरा बसपार्क र आँपटारीमा प्रमुख जिल्ला अधिकारी अर्याल, प्रहरी उपरीक्षक गोविन्द पुरी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख सुरेश तिवारीसहितको टोलीले सडकमा जाँच गरी कारबाही गरेको हो ।
उनले बढी भाडा लिने ६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । यात्रुलाई बढी भाडाको टिकट दिएर चलानीमा कम रकम उल्लेख गरेर ठगी गरेकालाई कारबाही गरिएको हो । यस्तै, २५ माइक्रोबसले उठाएको बढी भाडा फिर्ता समेत गरिएको प्रहरी निरीक्षक शर्माले बताएकी छन् ।
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार, चलानीबिना यात्रु लिएर हिँडेका सवारी चालक र बढी भाडा असुल गरेकालाई सचेत गराइएको, भाडा फिर्ता गराइएको, जरिवाना लगाइएको र नियन्त्रणमा लिइएको छ । अटेर गरेकालाई पक्राउ गरी कालोबजारी ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । चितवन हुँदै काठमाडौँतर्फ गुड्ने सवारीसाधनमा अनुगमन गरिएको हो ।
दसैँ मानेर काठमाडौँ फर्किनेको चाप बढेपछि यातायात व्यवसायीले उनीहरूबाट चर्को भाडा असुल्ने गरेको गुनासो सुनेपछि नियमितरूपमा अनुगमन गर्न थालिएको प्रहरी उपरीक्षक पुरीले बताएका छन् । रासस





