३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

नेपाल युएईविरुद्ध एक रनले विजयी



काठमाडौँ । नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्सको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स ९युएई० माथि एक रनको रोमाञ्चक जित हात पारेको छ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा आइतबार भएको खेलमा जितका लागि एक सय ४१ रनको मध्यम लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन मात्र बनाउन सक्यो ।

जितसँगै नेपालले विश्वकप छनोटको सम्भवना बलियो बनाएको छ । नेपालले सुपर सिक्समा चार अङ्क बनाएको छ । युएईका लागि अलिशान सरफुले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

उहाँले ४० बलमा तीन चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै ध्रुव पराशरले ३२, ओपनर जोनाथन फिगीले १९ र जाहित अलीले ११ रन बनाउनुभयो ।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिनुभयो । सोमपाल कामी, गुल्शन झा र सन्दीप लामिछानेले एक एक विकेट लिनुभयो । ऐरी प्लेयर अफ द म्याच बन्नुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४० रन बनाएको थियो । नेपालका लागि आशिफ शेखले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४७ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै कुशल भुर्तेलले २८, कप्तान रोहितकुमार पौडेलले २०, गुलसन झाले १४ र कुशल मल्लले १० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।

बलिङमा युएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले एक एक विकेट लिनुभयो । नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : १७ बजे