काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सबैको साथ आवश्यक भएको बताएकी छन् ।
बुधबार ९कात्तिक ५० प्रधानमन्त्री निवास बालुवाटारमा कलाकारसँगको भेटमा उनले भनिन्, “समाजमा तपाईं कलाकारहरूको प्रभाव छ, सामाजिक सञ्जालतिर भइरहेको दुष्प्रचार चिर्नका लागि तपाईंहरूले पनि भूमिका खेलिदिनुहोस् । हाम्रा केही कमी–कमजोरी भए पनि औँल्याइदिनुहोस् । तर, असल नियतले काम गर्दा गर्दै कसैले गाली गर्छ भने त्यस्ता गालीसँग डराउँदैनौँ, हाम्रो उद्देश्य र लक्ष्यमा हामी स्पष्ट छौँ ।”
कलाकारले पनि प्रधानमन्त्री कार्कीलाई गलत सूचना र ‘प्रोपगान्डा’बाट नडराई संकल्पअनुसार अघि बढ्न सुझाव दिएका छन् । उनीहरूले भ्रष्टाचारविरुद्धको कारबाही र आउँदो निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिए ।
“सरकारसँग हामी केही माग्न आएका होइनौँ, यो देश रहेमा माग्ने कुरा माग्दै गरौँला, पहिला यो देश बचोस् । यसका लागि सरकारले खुट्टा बलियो गरी टेकेर अघि बढोस्,” कलाकारले भने ।
मुलुकको पहिलो महिला प्रधानन्यायाधीशका रूपमा काम गरेपछि पनि कठिन परिस्थितिमा देशको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीप्रति उनीहरूले कृतज्ञता प्रकट गरे ।
“अब के पो हुन्छ भनेर हामीलाई डर लागिरहेका बेला सम्हाल्न हजुर आउनुभएको छ,” अभिनेत्री ऋचा शर्माले भनिन्, “हामीलाई ढुक्क भएको छ । यहाँको सरल, सादगीपूर्ण र स्पष्ट वक्ता शैलीका कारण पनि भरोसा जागेको छ । अब मुलुक सही दिशामा अघि बढ्नेमा हामीलाई विश्वास छ ।”
परिवर्तन नरुचाएका तत्त्वले गृहमन्त्री ओमप्रकाश अर्यालसहित वर्तमान सरकारलाई विवादमा तान्न खोजेको उनीहरूको दाबी थियो । त्यसनिम्ति सामाजिक सञ्जालमा भइरहेको दुष्प्रचारका विषयमा उनीहरूले चासो व्यक्त गरेका थिए ।
अभिनेता विपीन कार्कीले भने, “गृहमन्त्रीज्यूका केही दिनका अभिव्यक्तिले सरकार डराएको छैन भन्ने अनुभूति हामीलाई भएको छ, सरकारप्रति थप विश्वास र आशा जागेको छ । अझै सरकार दरिलो रहेछ भन्ने अनुभूति गर्न पाऊँ ।”
गृहमन्त्रीले कानुनको शासनका पक्षमा देखाएको अडान र विपद् व्यवस्थापनमा खेलेको भूमिकाको सराहना गर्दैै उनीहरूले देशमा सरकार छ भन्ने अनुभूति भएको बताए ।
अभिनेता निश्चल बस्नेतले भने, “आफू सही धरातलमा छु भन्ने लागेको छ भने कसैसँग डराउनु पर्दैन, ढुक्कसँग अघि बढ्नुहोस् । तपाईंको पक्षमा हामी छौँ । देशलाई थप अप्ठ्यारो आउन नदिन यतिखेर राष्ट्रिय एकताको खाँचो छ । सरकारलाई सहयोगको खाँचो छ र यतिखेर सकारात्मकताको खाँचो छ ।”
साहित्य र कलाले आलोचनात्मक चेत बोक्ने भए पनि हाल तटस्थ नागरिक सरकार रहेको र पूर्वप्रधानन्यायाधीशदेखि समाजका प्रतिष्ठित, विज्ञ, विशेषज्ञ मन्त्रिपरिषद्मा सामेल भएका कारण कम्तीमा विगतमा जस्तो बेथितिको संरक्षण हुने छैन भन्ने विश्वास उनीहरूले व्यक्त गरे ।
संगीतकार कालीप्रसाद बाँस्कोटाले भने, “समाज भड्काउन सजिलो छ, सम्हाल्न गाह्रो छ, अहिले भड्काउन खोज्नेहरू बढी देखिएका छन्, त्यस्ता तत्त्वहरूप्रति सचेत रहँदै सम्हाल्ने र सम्हालिने समय हो यो ।”
वर्तमान सरकारलाई बदनाम र कमजोर बनाउँदै अस्थिरताको लाभ लिन खोज्नेले नियोजित रूपमा चलाइरहेका अभियानलाई निस्तेज बनाउन ‘जेनजी’ युवादेखि परिवर्तन पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि सर्जकले औँल्याए ।
त्यस अवसरमा कलाकार तथा सर्जक विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपीन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, ऋचा शर्मा, कर्मालगायतको उपस्थिति थियो । रासस





