१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

राष्ट्रपति पौडेल दोहा प्रस्थान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन सोमबार बिहान कतारको राजधानी दोहा प्रस्थान गरेका छन्।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेलले कात्तिक १८ देखि २० गतेसम्म हुने उक्त सम्मेलनमा सहभागिता जनाउने कार्यक्रम छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कतारका लागि नेपाली राजदूत, उच्च सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरूले उनलाई बिदाइ गरे । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो।

राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नुहुने र कतारका अमिर शेख तमिम बिन हमद अल थानी तथा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ।

१९९५ मा पहिलोपटक डेनमार्कको कोपनहेगनमा सम्पन्न यो सम्मेलनमा यसपटक विकास असमानता, जनसङ्ख्याको असन्तुलन र प्रविधिको सामाजिक प्रभावजस्ता विषयमा छलफल हुनेछ।

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेको नेपाल शान्ति र स्थायित्वका लागि निरन्तर सक्रिय सदस्य रहँदै आएको छ। राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कनुहुनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १० : ०२ बजे