१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

सूर्यविनायक–धुलिखेल सडक विस्तारको प्रगति ५० प्रतिशत



काठमाडौं । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेलखण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ ।

यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटरखण्डको प्रगति ४५ प्रतिशत पुगेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडकखण्ड विस्तारको प्रगति ५५ प्रतिशत छ । हाल दुवै प्याकेजको निर्माण धमाधम भइरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमन गरी निर्माण प्रगतिबारे जानकारी लिएका छन् । विस्तारको प्रगति, समस्यालगायत विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, निर्माण व्यवसायीसँग छलफल गरी मन्त्री घिसिङले काम गर्ने हाल उपयुक्त मौसम रहेकाले निर्माणलाई तीव्रता दिन निर्देशन दिए ।

अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजना निर्माणमा बजेट अभाव नहुने उनले उल्लेख गरे ।

सडकसीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायत कारणले आयोजनाको निर्माण कार्य प्रभावित भएको थियो । आयोजनाका निम्ति चालु आर्थिक वर्षमा ७० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ । आयोजनाले करिब चार अर्ब रुपैयाँ थप बजेट माग गरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १० : ४० बजे