२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र



काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ ।

रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता कार्य गरिएपछि पुनःस्तरोन्नतिको काम सुरु भएको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

पहिलो चरणमा आगामी चैतसम्ममा फराकिलो स्थानमा कालोपत्र सक्ने र बाँकी अन्य बाँकी काम क्रमशः गर्दै निर्धारित समयमा सकिने उनको भनाइ छ । विभिन्न स्थानमा ‘कटिङ’को कामबाट पुनःविस्तारकार्यलाई तीव्रता दिइएको हो ।

निर्माण कार्यमा ढिलासुस्ती गर्दा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ । कार्यालयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो । चार किलोमिटर दूरीको उक्त सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमै सक्नेमा आशावादी भएको योगेशले बताए ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  १० : ४६ बजे