काठमाडौँ । काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाधीन छ । काठमाडौँको त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल दोभानमा २।५३ हेक्टरमा प्रशोधन केन्द्र निर्माण भइरहेको हो ।
एसियाली विकास बैङ्क ९एडिबी०को वाग्मती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको प्रशोधन केन्द्रको लागत रु तीन अर्ब १८ करोड छ । केन्द्रको निर्माण आगामी मङ्सिरमा पूरा गर्ने लक्ष्य छ । टुकुचाको प्रवाहलाई उक्त केन्द्रमा पथान्तरण गरी पानी प्रशोधन भएपछि वाग्मतीमा प्रवाहित गरिने छ ।
प्रशोधन केन्द्रका सह उत्पादनको रुपमा ८०० किलोवाट विद्युत् पनि त उत्पादन हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको निजी सचिवालयले जनाएको छ । हाल त्रिपुरेश्वरतर्फ ढल प्रशोधन केन्द्रका भौतिक संरचना निर्माण भइरहेका छन्भने स्थानीयको अवरोधका कारण ललितपुरतर्फका संरचनाको निर्माण हुन सकेको छैन । ललितपुरमा विद्युत् उत्पादन हुने संरचना मात्र रहनेछन् । मुख्य ढल प्रशोधन गर्ने संरचना भने त्रिपुरेश्वरमा निर्माणाधीन छन् ।
मन्त्री घिसिङले आज निर्माणाधीन प्रशोधन केन्द्रको निरीक्षण गरी निर्माण प्रगतिबारे जानकारी लिनुभयो । त्यस क्रममा उहाँले निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग निर्माण सम्पन्न हुने तालिका, बेहोरिरहेका समस्या, समाधानका लागि गर्नुपर्ने नीतिगत निर्णयलगायतका विषयमा छलफल गर्नुभएको थियो । उहाँले सरकारले बागमती नदीलाई सफा बनाउन यसका सहायक खोला तथा नदी किनार व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको उल्लेख गर्नुभयो । निर्माण व्यवसायीले त्रिपुरेश्वरतर्फका संरचना तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।





