काठमाडौं । काठमाडौं महानगरपालिकाको गौरव योजना ‘धूलोरहित सडक’ कार्यक्रमअन्तर्गत अहिलेसम्म ५५ किलोमिटर सडक कालोपत्र भएको बताइएको छ ।
महानगरका अनुसार तीन वर्ष नियमित चल्ने कार्यक्रमको लागत दुई अरब ५२ करोड ४७ लाख रुपैयाँ निर्धारण गरिएको हो ।
पूर्वाधार सुधार गरेर सडकलाई धुलोरहित बनाउने यो कार्यक्रम वहुवर्षिय योजना हो । यसका लागि हरेक वर्ष करिब एकअर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
वडाबाट प्राप्त भएका मागका आधारमा सार्वजनिक निर्माण विभागबाट सञ्चालन हुने कार्यक्रममा सडकका खाल्डाखुल्डी पुर्ने, मर्मत गर्ने, कालोपत्र तथा आवश्यकता आधारमा ढलान गर्ने, ढल मर्मत गर्नेजस्ता काम हुने बताइएको छ ।
महानगरका अनुसार यो कामका लागि तीन अर्ब लागत अनुमान गरिएको थियो ।
काठमाडौंलाई चारभागमा बाँडेर बनाइएको प्याकेजमा सार्वजनिक खरिद प्रक्रियाबाट प्रतिस्पर्धामा छानिएकालाई कामको जिम्मा दिइएको महानगरपालिकाले जनाएको छ ।
यसमध्येको पूर्व क्षेत्रमा वडा नं। ६, ७, ८, ९, १०, ३१ र ३२ गरी सातवटा वडा पर्छन् । यी वडामा काम गर्न करिब ९० करोड रुपैयाँको लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट यसको कार्यादेश रकम ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ ।
कामको जिम्मा वल्र्डवाइड–कोहिनुर–रमिता जेभीले पाएको छ । निर्माण पक्षसँग २०८१ असोज १४ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हुने बताइएको छ ।





