३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

प्रदेश सरकार भ्रष्टाचार नियन्त्रण एवं सुशासन कायम गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की



मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न प्रयत्नरत रहेको बताएका छन् ।

‘भोलिको सदाचार निर्माणस् युवाहरूसँग भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता’ नाराका साथ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज विराटनगरमा आयोजित भ्रष्टाचार विरुद्धको २५औँ अन्तर्राष्ट्रिय दिवस–२०२५ को उद्घाटन गर्दै उहाँले राष्ट्र निर्माण र नेपाली जनताप्रति सुशासन कायम गर्ने प्रतिबद्धताअनुसार भ्रष्टाचारविरुद्ध अभियानमा लाग्न सबैलाई आह्वान गरे।

मुख्यमन्त्री कार्कीले मुलुकलाई सुसंस्कृत, सभ्य, आधुनिक, विकसित राष्ट्र बनाउन भ्रष्टाचार न्यूनीकरण अभियानमा प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिए । उनले बेरुजु एवं पेस्की फछ्र्यौट, नीति निर्माण, बजेट कार्यान्वयन क्षेत्र अधिकारको न्याय सम्पादनमा इमानदारीका साथ काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

मुख्यमन्त्री कार्कीले भ्रष्टाचार न्यूनीकरण अभियान सञ्चालन गर्नका लागि प्रदेशका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहभागितामा आगामी दुई महिनाभित्र कार्यक्रम सञ्चालन गरी मुलुकमा सन्देश प्रवाह गरिने बताए । प्रदेशका निमित्त प्रमुख सचिव राजु प्रसाद गुरागाईँले भ्रष्टाचार अपराध भएको र यो दण्डनीय हुने धारणा राखे ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  २ : ५२ बजे