२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मुस्ताङमा हिउँचितुवाको आक्रमणबाट १६ भेडा मरे



मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रनजिकै बिहीबार (मंसिर २५) राति हिउँचितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्यांग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको खोरमा हिउँचितुवा पसेर भेडाच्यांग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)जोमसोमले जानकारी दिएको छ ।

किसान परियारको मार्फास्थित गाउँभित्रको खोरमा ४५ भेडाच्यांग्र्रा थिए । तीमध्ये चितुवाको आक्रमणबाट १९ भेडाच्यांग्रा मरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । यसबाट करिब ६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

उनले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल जाँदै गरेको बताए ।

पछिल्लो समय मानव र हिउँचितुवाबीचको द्वन्द्व बढ्दै जान थालेको छ । हिउँदयाममा चरन क्षेत्रमा घाँसको अभाव हुने र हिउँचितुवाको आहारा प्रजाति चरन क्षेत्र खोज्दै बस्तीनजिक आउने गर्छन् । हिउँचितुवा पनि आहारा पछ्याउँदै बस्तीनजिक आएर स्थानीय पशुपालकको पशुधनमा क्षति पुर्‍याउने गरेको पाइएको छ ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण मानव र हिउँचितुवाबीचको सहअस्तित्व निर्माण गर्न चुनौती देखिएको छ । यसैका कारण जिल्लाका कतिपय किसानले पशुपालन व्यवसाय छोड्न थालिसकेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १० : १३ बजे