२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

निर्वाचन वैशाखमा सरेपनि स्वाभाविक रूपमै स्वीकार गर्नुपर्ने-बिश्वप्रकाश शर्मा



काठमाडौं । सरकार र जेनजी प्रतिनिधिबीच सहमति भएको ३ दिनपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्झौताको स्वागत गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र ‘जेनजी’बीचको सहमतिको स्वागत गरेका हुन्। विभिन्न आन्दोलनको जगमा प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्ने सहमति महत्त्वपूर्ण रहेको उनले टिप्पणी गरेका छन् ।

“मूलतः जेनजी प्रदर्शनले स्थापित गरेको ‘सुशासनको संकल्प र अठोट’ आगामी दिनका लागि सबैको साझा जिम्मेवारी र साझा कर्तव्य बन्नुपर्दछ,” शर्माले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

जेनजीसँगको सहमति कार्यान्वयनमा फागुन २१ गतेको मिति बाधक बन्न नहुनेमा उनले जोड दिएका छन् । आउँदो फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन हुने तय छ ।

जेनजी समूहलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण बनाउन र हिमाली क्षेत्रलाई समेत सहज हुने गरी निर्वाचन वैशाखमा सार्नुपरे त्यसलाई स्वाभाविक रूपमै स्वीकार गर्नुपर्ने उनले बताएका छन् । तर, आफूहरू फागुन २१ को मितिप्रति प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन् ।

“जेनजी समूहहरूलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन थोरै पर वैशाखमा पुग्नुपरे त्यसलाई स्वाभाविक रूपमै स्वीकार गर्नुपर्ने हुन्छ,” उनले लेखेका छन्, “सहमति र सहकार्यमार्फत आगामी यात्रालाई सहज बनाउनु हामी सबैको साझा दायित्व हो ।”

जेनजीसँगको सहमतिका क्रममा सरकारले राजनीतिक दललाई अपनत्व महसुस नगराएको भन्दै उनले असन्तुष्टि पनि व्यक्त गरेका छन् । यसमा सरकार चुकेको उनको टिप्पणी छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १० : ४४ बजे