रौतहट – रौतहटको कटहरिया नगरपालिका–९ मा रहेको ज्योति डिस्टिलरीमा शनिबार बिहान भएको ब्वाइलर विस्फोटमा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन् । शक्तिशाली विस्फोटका कारण डिस्टिलरी परिसरमा ठूलो क्षति पुगेको छ ।
दुर्घटनामा कटहरिया–९ बलुवा गाउँका अन्दाजी ४० वर्षका लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । विस्फोटमा परेर घाइते भएका ६ जनामध्ये केहीको अवस्था गम्भीर रहेको र उहाँहरूलाई प्राथमिक उपचारपछि एम्बुलेन्समार्फत वीरगञ्ज रिफर गरिएको छ ।
घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ भने विस्फोटको वास्तविक कारणबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक चरणमा मृतक तथा घाइतेको सङ्ख्या बढ्न सक्ने आशङ्का पनि गरिएको छ ।
घटनापछि स्थानीय बासिन्दामा भय र त्रासको वातावरण सिर्जना भएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले डिस्टिलरी क्षेत्र नियन्त्रणमा लिई सुरक्षा व्यवस्था कडा बनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरी घटनाबारे विस्तृत अनुसन्धान थालिएको छ । घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ ।





