१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

सौराहा हात्ती महोत्सवको अन्तिम दिन आज, पूजा र वनभोज गरिँदै



चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको आइतबार ९पुस १३० अन्तिम दिन हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर समापन गरिँदै छ ।

महोत्सवले अवलोकन गर्न आउने पाहुनाले पछिल्ला दुई दिन सौराहाका होटल पूर्ण रूपमा भरिभराउ भएका छन् भने पर्यटकीय क्षेत्र निकै चहलपहल बनेको छ ।

महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुंगा दौड प्रतियोगिता, पेनाल्टी सुटआउटलगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि सम्पन्न भएका छन् ।

साथै, स्वदेशी तथा विदेशी पर्यटकको मागलाई ध्यानमा राख्दै विश्वप्रसिद्ध हात्ती पोलोको झल्को पनि शनिबार महोत्सवस्थल बाघमारा चौरमा प्रस्तुत गरिएको थियो ।

संयोजक गुणराज थपलियाका अनुसार हात्ती पोलोका केही सामग्री उपलब्ध भएकाले पर्यटकहरूको माग र उत्साह बढाउन खेलको झल्को प्रस्तुत गरिएको हो ।

“खेल पूर्ण रूपमा सञ्चालन हुन नसके पनि यसको झल्को देखाउँदा दर्शक तथा पर्यटक निकै उत्साहित भए,” उनले भने ।

संयोजक थपलियाले महोत्सवको अन्तिम दिन आइतबार हात्ती पूजन गरिने जानकारी दिँदै हात्तीलाई भगवान्का रूपमा मानी पूजा गर्न लागिएको बताए ।

साथै, यस दिन हात्तीका लागि विशेष वनभोजको आयोजना गरिएको छ । “यसपटक हात्तीको वनभोज बफेट शैलीमा हुनेछ । हात्तीलाई मन पर्ने परिकारहरू राखिनेछन्, जसबाट हात्तीले आफूलाई मन लागेको जति खान पाउनेछन् । यसले हात्तीलाई रमाइलो महसुस गराउँछ,” उनले भने ।

हात्तीमाथि यातना गरिएको भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै उनले हात्ती पनि पीडा र खुसी महसुस गर्ने संवेदनशील जीव भएको उल्लेख गरे ।

“हात्तीलाई कसरी पीडा हुन्छ र कसरी खुसी हुन्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ । महोत्सवमा हामीले कुनै पनि प्रकारका यातनाजन्य गतिविधि गरेका छैनौँ,” उनले स्पष्ट पारे ।

सौराहास्थित बाघमारा चौरमा आयोजित महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजकका रूपमा रहेको छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ११ : ०९ बजे