३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

रसुवागढी नाकामा छ महिनापछि आवतजावत सुरु



रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ। आज बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालकहरूले केरुङतर्फ आवतजावत गर्न सुरु गरेका छन्।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार नेपाल–चीन सीमा क्षेत्रमा पर्ने ल्हेन्दे खोलामा निर्माणाधीन बेली ब्रिजको काम सम्पन्न भएसँगै पुस १७ गतेदेखि नाका खोल्ने विषयमा चिनियाँ समकक्षीबाट जानकारी प्राप्त भएको थियो।

यसैबीच, गत असार २४ गते अघि सामग्री लिन केरुङ गएका मालवाहक कन्टेनर तथा डिब्बा ल्याउनका लागि नेपाली चालकहरू र सामानको व्यवस्थापनका लागि व्यवसायीका प्रतिनिधिहरू समेत केरुङतर्फ प्रस्थान गरिसकेको सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिनुभयो।

ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि असार महिनादेखि नै रसुवागढी नाकाबाट हुने व्यापार व्यवसाय पूर्ण रूपमा बन्द भएको थियो। यसका कारण गत वर्षको सोही अवधिसँग तुलना गर्दा हालसम्म करिब २० अर्ब रुपैयाँ बराबरको भन्सार राजस्व नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो।

त्यस्तै, बाढीका कारण टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाहमा क्षति पुगेको थियो भने रसुवागढी–स्याफ्रुबेँसी १६ किलोमिटर सडकखण्डका विभिन्न स्थानमा नदी कटान हुँदा यातायात पूर्वाधारमा समेत ठूलो असर परेको छ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १ : १६ बजे