रौतहट। पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डमा पर्ने लमाह पुल नजिक आज बिहान एलपी ग्यास बोकेको भारतीय ट्याङ्कर दुर्घटना भएको छ। भारतको रक्सौलबाट धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ एटी २११४ नम्बरको ट्याङ्कर अनियन्त्रित भई सडकको बीचमै पल्टिँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
दुर्घटनामा परी ट्याङ्कर चालक भारतको कदोरा जिल्ला निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन्। उनको अहिले चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिए।
ट्याङ्कर सडकको बीच भागमै पल्टिएको र त्यहाँबाट ग्यास चुहावट ९लिक० भइरहेकाले ठुलो दुर्घटना हुन सक्ने जोखिम बढेको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले घटनास्थल आसपासका सवारीसाधनलाई टाढै रोकेको छ। अहिले पूर्वबाट आएका सवारीसाधनहरू चन्द्रनिगाहपुर र पश्चिमबाट आएका सवारीसाधनहरू धन्सार पुल नजिकै रोकिएका छन्, जसका कारण यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
पल्टिएको ट्याङ्कर उठाउन र ग्यास चुहावट नियन्त्रण गर्न जनकपुरबाट ग्यास कम्पनीका प्राविधिकसहितको टोली आउँदै गरेको ट्राफिक प्रमुख थापामगरले बताए। प्राविधिक टोलीले जाँच गरेर सुरक्षा सुनिश्चित गरेपछि मात्र राजमार्ग सुचारु गर्ने तयारी प्रहरीको छ।





