खोटाङ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिएका छन् ।
विसं २०१३ फागुन–७ गते जन्मिएका उनले पहिलोपटक जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा छोरीहरु शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनुपरेकाले ढिलै भए पनि नागरिकता लिएको उनले सुनाए ।
“म सानै उमेर ९१४ वर्ष०को हुँदा साथीहरुसँग घरबाट भागेर रोजगारीको सिलसिलामा भारत गएँ । उताबाट फर्किएपछि कञ्चनपुरमा आएर मजदुरीको काम गर्न थालेँ । त्यहाँ काम गर्दागर्दै स्थानीय लीला भट्टसँग विवाह गरेँ,” उनले भने, “हाम्रो २२ र आठ वर्षीया दुई छोरी छन् । जेठी छोरी अहिले कक्षा–१२ मा पढ्दै छिन् । उनलाई मेरो नागरिकता चाहिने भएपछि मैले जिल्ला आएर नागरिकता लिएको हुँ ।”
घर छाडेको ५६ वर्षपछि जिल्ला फर्किएका केशरबहादुरलाई जेठा दाजु मदनबहादुरको सनाखतमा प्रशासनले नागरिकता दिएको छ ।
झन्डै सात दशकपछि प्राप्त भएको नागरिकताको प्रमाणपत्रले केशरबहादुरको परिवारमा नयाँ आशा थपेको भतिज श्यामकुमारले बताए ।
“सानै उमेरबाट सम्पर्कविहीन हुनुभएका काका ५६ वर्षपछि घर आउनुभयो । लामो समयसम्म सम्पर्कविहीन हुनुभएको व्यक्ति घर आएपछि परिवारमा खुसीयाली छाएको छ,” उनले भने, “नागरिकता बनाउनका लागि उहाँसँग कुनै प्रमाण थिएन । करिब हप्ता दिन लगाएर सबै प्रमाण जुटायौँ । आज जिल्ला प्रशासन कार्यालयले काकालाई नेपाली नागरिकताको प्रमाणपत्र दिएपछि हर्षित हुनुभएको छ ।”
आफूले नेपाली नागरिकताको प्रमाणपत्र पाएसँगै श्रीमतीको विवाह दर्ता र छोरीहरूको जन्मदर्ता गर्ने तयारी गरेको केशरबहारले बताए ।
चेतना अभावका कारण बुबाआमाले नागरिकता नबनाउँदा जिल्लाका धेरै परिवारमा जन्मिएका छोराछोरीमा समस्या देखिने गरेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताइन् ।





