गोरखा । गोरखामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका अनुसार जिल्लामा यो वर्ष तीन हजार १८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।
किसानले करिब २२ करोड आम्दानी गरेको एकाइकी सूचना अधिकारी पूजा रेग्मीले बताइन् । किसानले एक करोड ५० लाखबराबरको कागतीसमेत बिक्री गरेको उनले जानकारी दिइन् । उनका अनुसार यो वर्ष गोरखामा १५ देखि २० प्रतिशतले सुन्तलाको उत्पादन बढेको छ । उत्पादन बढेसँगै किसान उत्साहित बनेका सूचना अधिकारी रेग्मीको भनाइ छ ।
“यस वर्ष मौसम अनुकूल भएकाले पनि उत्पादन बढेको हो, विगतका वर्षहरूमा रोपेको सुन्तलाले यस वर्षबाट उत्पादन दिन थालेकाले पनि उत्पादनमा वृद्धि आएको हो”, उनले भनिन् ।
गत वर्ष जिल्लाभर जम्मा १९ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०८०र८१ मा एक हजार ६०० मेट्रिक टन र आव २०७९र८० मा एक हजार ८०० मेट्रिक टन सुन्तला उत्पादन भएको सूचना अधिकारी रेग्मीले बताइन् ।
कृषि ज्ञान केन्द्रले पनि यो वर्ष जिल्लामा सुन्तलाको उत्पादन बढेको बताएको छ । कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार यो वर्ष जिल्लाभर १५ प्रतिशतले सुन्तलाको उत्पादन बढेको हो । कार्यालयले आम्दानीको विवरण भने नराखेको उनले जानकारी दिए ।





