काठमाडौं । पछिल्ला दुई दिनदेखि राजनीतिक बजारमा नेपाली कांग्रेस पार्टीलाई लिएर विभिन्न भ्रमपूर्ण सूचनाहरू फैलिरहेको भन्दै कांग्रेस नेता मीन विश्वकर्माले ती विषयमा स्पष्ट पारेका छन्।
उनले पार्टीभित्र विवादका कारण निर्वाचन आयोग र अदालतसम्म मुद्दा पुगेको भए पनि त्यसले निर्वाचनमा असर नपरोस् भन्ने उद्देश्यले उम्मेदवार छनोटमा सहमति गरिएको र देशव्यापी रूपमा कांग्रेसजनले “रुख” चिन्हमा निर्विवाद रूपमा मत माग्ने वातावरण बनाइसकेको बताएका छन्। माघ ४ गते राति आफूले राखेको फेसबुक स्टाटसले समेत उक्त सहमति पुष्टि गर्ने उनको भनाइ छ।
विश्वकर्माका अनुसार हाल नेपाली कांग्रेसभित्र कुनै किसिमको मतभेद छैन र सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित रहेको छ। राष्ट्रिय सभा निर्वाचनपछि देउवा–खड्का पक्षले पार्टीको राष्ट्रिय भेला बोलाउने भन्ने समाचार निराधार र कपोकल्पित हल्ला मात्र भएको उनले स्पष्ट पारे।
भावी प्रधानमन्त्री गगन थापाका विषयमा एक सञ्चारमाध्यमले आफ्नो अभिव्यक्तिलाई गलत आशयका साथ प्रस्तुत गरेकोप्रति पनि उनले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। संसदीय दलमा चुनाव भएमा जो जित्छ उही दलको नेता र प्रधानमन्त्री हुन्छ भन्ने सामान्य जवाफलाई “हाम्रो असहमति छ” भन्ने वाक्यांश जोडेर प्रचार गरिएको उनको आरोप छ।
उनले पार्टीको तर्फबाट सभापति गगन थापालाई “भावी प्रधानमन्त्री” घोषणा भइसकेको र पार्टी केन्द्रीय समितिको निर्णय सबैले पालना गर्नुपर्ने स्पष्ट पारेका छन्। सो निर्णयविपरीत कार्य गर्न कसैलाई छुट नहुने उनको चेतावनी छ।
पार्टी निर्वाचनको मैदानमा रहेकाले यस्ता भ्रामक सूचनाहरू आउने गरेको उल्लेख गर्दै विश्वकर्माले पार्टीसम्बन्धी विषयमा सम्बन्धित व्यक्तिसँग बुझेर मात्र लाइक, कमेन्ट र शेयर गर्न आग्रह गरेका छन्। पार्टी र पार्टीका उम्मेदवारलाई असर पर्ने कुनै पनि कार्य नगर्न उनले सबैमा अनुरोध गरेका छन्।





