गुल्मी । ६ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनेका छन् । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बिमा गर्ने नागरिकको संख्यामा वृद्धि हुँदै जान थालेको छ । नागरिकले स्वास्थ्य बिमा कार्यक्रमको महत्त्वका बारेमा बिस्तारै बुझ्दै जान थालेसँगै स्वास्थ्य बिमाप्रतिको आकर्षण बढ्न थालेको हो ।
पछिल्लो तथ्यांकअनुसार हाल एक लाख ३१ हजार १२७ जना स्वास्थ्य बिमामा आबद्ध बनिसकेका छन् । बिमामा आबद्धता हुनेहरूमा ६७ हजार ५१७ महिला र ६३ हजार ६०८ पुरुष रहेका छन् । जिल्लामा रहेका १२ स्थानीय तहमध्ये संख्याका आधारमा रेसुंगा नगरपालिका स्वास्थ्य बिमा गर्नेमा सबैभन्दा अगाडि छ । उक्त नगरपालिकामा २५ हजार २१२ व्यक्ति बिमामा आबद्ध भएका छन् ।
त्यसैगरी रुरुक्षेत्र गाउँपालिकामा १४ हजार २१७ बिमित बनेका छन् । जिल्लामा पालिकाहरूमा रहेको जनसंख्याका आधारमा भने रुरुक्षेत्र गाउँपालिकामा सबैभन्दा धेरै नागरिक बिमित बनेको स्वास्थ्य बिमा बोर्ड गुल्मीका संयोजक तथा दर्ता अधिकारी सुवास घिमिरेले जानकारी दिए ।
रुरुक्षेत्र गाउँपालिकामा पछिल्लो समयमा स्वास्थ्य बिमा दर्ता अभियानमा नागरिकले सक्रिय सहभागिता जनाएको अध्यक्ष यदु ज्ञवालीले बताए । उनले यस आर्थिक वर्षमा पालिकाभित्र ९० प्रतिशत बिमित पुर्याउने योजना रहेको बताए । अध्यक्ष ज्ञवालीले विपन्न तथा असहाय नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रमसँग जोड्ने गरी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अगाडि बढाइएको जानकारी दिए ।
त्यसैगरी मुसिकोट नगरपालिकामा आठ हजार २६१, चन्द्रकोट गाउँपालिकामा ६ हजार ५१७, धुर्कोट गाउँपालिकामा १० हजार ७३३, छत्रकोट गाउँपालिकामा १२ हजार ५७३ र गुल्मी दरबारमा १० हजार ४३१ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।
त्यसैगरी इस्मा गाउँपालिकामा सात हजार ७९०, कालिगण्डकीमा ६ हजार ८२१, मदाने गाउँपालिकामा तीन हजार ९३२, मालिका गाउँपालिकामा आठ हजार ४५१ र सत्यवती गाउँपालिकामा १६ हजार १९० जना नागरिक स्वास्थ्य बिमामा आबद्ध बनिसकेको बताइएको छ ।
जिल्लामा ६ वर्षको अवधिमा कुल जनसंख्याका आधारमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनिसकेको स्वास्थ्य बिमा बोर्डका दर्ता अधिकारी घिमिरेले बताए । जिल्लामा गुल्मी अस्पताल, जिल्ला आँखा उपचार केन्द्र तम्घास, धुर्कोट आधारभूत अस्पताल, गुल्मीदरबार आधारभूत अस्पताल, श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्र, रुरु प्राथमिक स्वास्थ्य केन्द्र र जोहांग प्राथमिक स्वास्थ्य केन्द्र गरी सातवटा अस्पतालले स्वास्थ्य बिमा सेवा उपलब्ध गराउँदै आएका छन् ।
विगत वर्षहरूको तुलनामा जिल्लामा स्वास्थ्य बिमा गर्नेहरूको संख्या बढ्दै गएको दर्ता अधिकारी घिमिरेले बताए । स्वास्थ्य बिमा कार्यक्रमका लागि जिल्लामा दुई जना कर्मचारी र ९४ जना दर्ता सहयोगी रहेका छन् ।





