काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पाँच वर्षभित्रमा देशबाट चार खर्ब रुपैयाँबराबरको आईटी तथा डिजिटल सेवाको निर्यात सम्भव रहेको बताएका छन् । पाँच वर्षभित्रमा दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना हुन सक्ने अवस्था रहेकामा पनि उनले जोड दिएका छन् ।
सोमबार ९फागुन ४० एक भिडियो सन्देशमार्फत उनले पाँच वर्षमा २०० भन्दा बढी नेपाली आईटी कम्पनी विदेशमा विस्तार हुन सक्ने समेत बताएका छन् । आफ्नो पार्टी सत्तामा पुगेको अवस्थामा उनले अबका पाँच वर्षभित्र गरिनेमध्येका केही योजना सुनाएका हुन् ।
“कम्तीमा पनि तीनदेखि पाँचवटा आईटी कम्पनी धितोपत्र बजारमा सूचीकृत हुन सक्ने अवस्था पाँच वर्षभित्र अहिलेको हाम्रो आधार हो र हामीले गर्यौँ भने मजाले हुन सक्ने अवस्था छ,” उनले भनेका छन् ।
आफूले यसअघि कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन–चार लाख रुपैयाँ कमाउने बनाउन सकिन्छ भनेको पनि उनले स्मरण गरेका छन् । “यो हाँसोको विषय पनि बन्यो । निकै ट्रोल पनि भयो,” उनले भनेका छन्, “तर, मैले हावादारी कुरा गरेको थिइनँ । मेरो त्यो कुनै उडन्ते सपनाको कुरा पनि थिएन । त्यो गर्न सकिन्छ भन्ने मेरो विश्वासको कुरा थियो ।”





