२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

प्रदेश सांसदबाट राजीनामा दिएर संघीय चुनाव लडेका तीन उम्मेदवार पराजित



रुपन्देही । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिनुभएका चार जनामध्ये एक जना मात्रै सफल हुनुभएको छ भने अन्य तीन जना मुख्य प्रतिस्पर्धामा समेत आउन नसकी चौथो, पाँचौँ र छैटौँ स्थानमा सीमित हुनुभएको छ । तीमध्ये एक जनाको त जमानतसमेत जफत भएको छ ।

दाङबाट प्रदेश सभा सदस्य रहनुभएका नेपाल कम्युनिस्ट पार्टीका धनबहादुर मास्की, बर्दियाबाट प्रदेश सभा सदस्य निर्वाचित उज्यालो नेपाल पार्टीका धर्मबहादुर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित कन्हैया बानियाँ तथा बाँकेको क्षेत्र नम्बर १ बाट २०७९ मा निर्वाचित कृष्णा केसी नमुनाले प्रदेशसभाको कार्यकाल करिब डेढ वर्ष बाँकी रहँदै राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनुभएको थियो ।

उहाँहरूमध्ये कन्हैया बानियाँ मात्रै प्रतिनिधिसभामा निर्वाचित हुन सफल हुनुभएको छ भने अन्य उम्मेदवार मुख्य प्रतिस्पर्धामा आउन सक्नुभएन । बाँकेकी नमुना केसीको भने जमानतसमेत जफत भएको छ । उहाँले जम्मा ८ सय ७३ मत प्राप्त गर्नुभएको निर्वाचन परिणाममा देखिएको छ ।

२०७९ को प्रदेशसभा निर्वाचनमा रूपन्देही–४ को १ बाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित हुनुभएका बानियाँले उम्मेदवारी मनोनयनअघि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी रूपन्देही–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएको थियो ।

रास्वपाबाट उम्मेदवारी दिनुभएका उहाँले नेकपा एमालेका प्रमोद यादवलाई पराजित गर्दै प्रतिनिधिसभामा स्थान बनाउन सफल हुनुभएको हो । प्रदेशसभाको जिम्मेवारी छाडेर संघीय राजनीतिमा भूमिका परिवर्तन गर्ने समय आएको महसुस भएकाले उम्मेदवारी दिएको र जनताले साथ दिएको उहाँको प्रतिक्रिया छ । जेनेरेसन ‘जेन्जी’ को भावना तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने अभियानलाई समर्थन गर्न मर्चवार क्षेत्रको पनि योगदान देखियोस् भन्ने सोचले आफूले संघीय चुनाव रोजेको उहाँले बताउनुभएको छ ।

यसै गरी तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएकी बाँकेकी कृष्णा केसी नमुना पनि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएको थियो । प्रदेश सरकारकी पूर्वमन्त्रीसमेत रहनुभएकी उहाँ छैटौँ स्थानमा सीमित हुनुभएको छ भने जमानतसमेत जफत भएको छ ।

त्यस्तै दाङ क्षेत्र नम्बर २ को २ बाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएका धनबहादुर मास्की नेकपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएको थियो । प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहनुभएका मास्की ९ हजार ३ सय २८ मत प्राप्त गर्दै चौथो स्थानमा सीमित हुनुभएको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया–२ को २ मा निर्वाचित हुनुभएका धर्मबहादुर चौधरीले पनि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर उज्यालो नेपाल पार्टीबाट बर्दिया–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएको थियो । प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहनुभएका उहाँले ४ हजार ४ सय ७२ मत प्राप्त गर्दै पाँचौँ स्थानमा सीमित हुनुभएको छ । उहाँ उज्यालो नेपाल पार्टीका महासचिवसमेत हुनुहुन्छ ।

सङ्घीयता व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन नभई अधिकांश निर्णय केन्द्रमै निर्भर भइरहेकाले जनताको माग सुनिश्चित गर्न संघीय संसद्मा जान आवश्यक ठानेर प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको उहाँले यसअघि बताउनुभएको थियो । तर निर्वाचन परिणामपछि उहाँले औपचारिक प्रतिक्रिया दिनुभएको छैन ।

प्रदेशसभा सदस्य पदबाट कार्यकाल बाँकी रहँदै राजीनामा दिएर संघीय निर्वाचनमा उम्मेदवारी दिनुभएका उहाँहरूमाथि सामाजिक सञ्जालमा आलोचना पनि भइरहेको छ । जिम्मेवारी बिचमै छाडेर निर्वाचनमा होमिएको तर न पुरानो पद जोगिएको न नयाँ संसद्मा स्थान पाइएको भन्दै टिप्पणी भइरहेका छन् ।

यसैबिच बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले पनि पदबाट राजीनामा दिएर जनता समाजवादी पार्टी नेपालबाट बाँके–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएको थियो । जसपा नेपालबाटै उपप्रमुख निर्वाचित हुनुभएका उहाँले पार्टीको योजनाअनुसार पद छाडेर निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएको भए पनि निकै कम मत प्राप्त गर्दै पछि पर्नुभएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १२ : ५६ बजे