काठमाडौं । नेपाली कांग्रेसले गत भदौको जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको टिप्पणी गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले यस्तो टिप्पणी गरेका हुन् । उनले जाँचबुझ आयोगको प्रतिवेदनले घटनाक्रमको पूर्ण चित्र प्रस्तुत गर्न नसकेको बताए ।
प्रतिवेदनले २३ भदौको जेनजी आन्दोलनबारे केही प्रकाश पार्ने प्रयास गरे पनि २४ गतेका घटनाहरूलाई स्पष्ट रूपमा समेट्न नसकेको चालिसेको भनाइ छ । प्रतिवेदनको विस्तृत अध्ययन गर्न कानुनविद्, प्रशासनका जानकार, जेनजी आन्दोलनका अभियन्ता तथा विज्ञहरू सम्मिलित समिति गठन गरिएको उनले जानकारी दिए ।





