१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

आरक्षित सेयरमै अनियमितता आरोपमा सन नेपाल लाइफका सीइओ अर्याल पक्राउ, कागजातमै देखियो ‘फरक कथा’



काठमाडौं । कर्मचारीका लागि छुट्याइएको आरक्षित सेयर वितरणमै अनियमितता गरेको आरोप लागेपछि सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) राजकुमार अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले सोमबार पुतलीसडकबाट उनलाई नियन्त्रणमा लिएको हो।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार कर्मचारीका लागि सुरक्षित गरिएको सेयर बाँडफाँट प्रक्रियामा पेश गरिएका कागजातहरू नै विवादको मुख्य आधार बनेका छन्। नियामक निकायमा बुझाइएका सक्कल आवेदन फाराम र तिनका प्रतिलिपिबीच विवरण नमिलेको देखिएपछि कागजात कीर्ते भएको आशंका गरिएको हो। यही आधारमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०० अन्तर्गत कसुर भएको दाबी गर्दै अदालतबाट पक्राउ अनुमति लिइएको प्रहरीले जनाएको छ।

प्रकरणको जरो भने कम्पनीले कर्मचारीका लागि छुट्याएको ४ लाख ८० हजार कित्ता सेयर बाँडफाँटमै देखिएको छ। तीमध्ये ठूलो हिस्सा—करिब ८० प्रतिशत—सीइओ अर्यालले आफ्नै नाममा सारेको आरोप छ। धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ ले कम्पनीलाई कुल आइपीओको निश्चित अंश कर्मचारीका लागि सुरक्षित राख्नुपर्ने व्यवस्था गरेको भए पनि कर्मचारीभित्र कसरी वितरण गर्ने भन्ने स्पष्ट आधार नहुँदा त्यसैलाई उपयोग गरी स्वार्थअनुकूल निर्णय गरिएको आरोप लागेको हो।

यो विषयमा कम्पनीकै कर्मचारीबाट डेढ वर्षअघि उजुरी परेको बताइन्छ। प्रारम्भिक सोधपुछका क्रममा अर्यालले बाँडफाँटमा कमजोरी भएको स्वीकार गर्दै प्रक्रिया सुधार्ने प्रतिबद्धता जनाएका थिए। त्यसपछि पुनः वितरण प्रक्रिया अघि बढाइएको जानकारी नियामक र अनुसन्धान निकायलाई पत्रमार्फत दिइएको थियो।

नेपाल धितोपत्र बोर्डले समेत सेयर वितरणमा कैफियत देखिएको भन्दै सञ्चालक समितिलाई पारदर्शी ढंगले पुनः बाँडफाँट गर्न निर्देशन दिएको थियो। तर विवरणमै असमानता देखिएपछि प्रकरण झन् गम्भीर बन्दै आपराधिक अनुसन्धानको चरणमा पुगेको हो।

यस प्रकरण सार्वजनिक भएसँगै कम्पनीभित्र कर्मचारी व्यवस्थापन शैलीबारे पनि प्रश्न उठेको छ। स्रोतका अनुसार विवादित सेयर बाँडफाँट प्रकरणपछि पुराना कर्मचारीलाई निष्कासन गर्ने, जिम्मेवारीबाट हटाउने तथा दबाब दिने अभ्यास बढाइएको थियो । उक्त प्रक्रियामा डेपुटी सीइओ कवि फुयाँल मुख्य रुपमा सक्रिय रहेका थिए ।
फुयाँल यसअघि आइएमईमा कार्यरत रहँदा ठूलो आर्थिक अनियमिततासम्बन्धी विवादमा मुछिएको र सो विषयमा बीमा प्राधिकरणमा उजुरीसमेत परेको छ। यस्तै, प्रदेश तहको नेतृत्व सम्हालेकी लोकमाया अधिकारीमाथि पनि कर्मचारीलाई दबाब दिने र विगतमा सिटिजन इन्स्योरेनसमा रहँदा समेत अनियमिततासम्बन्धी प्रश्न उठेको पृष्ठभूमि रहेको आरोप स्रोतहरूले उल्लेख गरेका छन्।

“स्पष्ट र न्यायसंगत कारणबिना सरुवा गर्ने, कर्मचारीलाई जबरजस्ती सरुवामा बाध्य पार्ने, तथा आफूले नगरेको कार्यमा समेत संलग्न भएको भनी स्वीकार गर्न दबाब दिने कार्यमा डेपुटी सीइओ फुयाँल, प्रदेश प्रमुख अधिकारीको संलग्नता रहेको पिडित कर्मचारी भनाई छ । यसले संस्थाभित्र असन्तुष्टि बढाएको मात्र छैन संस्थाको प्रतिष्ठामा समेत आँच पुर्याएको छ ।
सीआइबीले आरक्षित सेयर बाँडफाँट प्रकरणमा अनुसन्धान जारी रहेको जनाएको छ। पछिल्ला घटनाक्रमले बीमा क्षेत्रको कर्पोरेट सुशासन, पारदर्शिता र कर्मचारीमैत्री कार्यसंस्कृतिबारे गम्भीर बहस सुरु गराएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ९ : ०६ बजे