१९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026

यस्ता छन् संसद बैठकका पहिलो दिनका कार्यसूचि



काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजबाट सुरु हुँदै छ । आजको बैठकमा सभाका ज्येष्ठ सदस्यरसभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवशेन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

बैठकमा सभामुखले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्ने संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको महासचिव पाण्डेयले जानकारी दिए । सोही बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि निवेदन दिन तोक्नेछन् ।

साथै, तीन अध्यादेश पेस हुँदै छन् । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली ९पहिलो संशोधन० अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ९पहिलो संशोधन० अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा ९दोस्रो संशोधन० अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

बैठकको अन्त्यमा सभामुखले संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधानसभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहोराको शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  १० : ५१ बजे