२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

सरकारले गर्‍यो अमेरिका र इरानबीचको युद्धविरामको स्वागत



काठमाडौँ । सरकारले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच दुई साताका लागि भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पश्चिम एसियामा बढ्दो तनाव कम गर्न यो सहमतिलाई एक सकारात्मक र महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ। मन्त्रालयले यस युद्धविरामले आपसी मतभेदहरूलाई संवाद, कूटनीति र शान्तिपूर्ण माध्यमबाट समाधान गर्न नयाँ अवसर सिर्जना गरेको बताएको छ। सरकारले यस कदमलाई क्षेत्रीय शान्ति र स्थायित्व प्रवद्र्धनतर्फको सकारात्मक पहलको रूपमा लिँदै कुनै पनि विवादको अन्तिम समाधान शान्तिपूर्ण वार्ताबाटै हुनुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमार्फत सरकारले द्वन्द्वका कारण सर्वसाधारणमा परेको मानवीय प्रभावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नागरिकको सुरक्षा र हितलाई उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएको छ। साथै, क्षेत्रीय तथा विश्वव्यापी रूपमा दिगो शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदायले गरिरहेका सबै खाले प्रयासहरूमा नेपालको पूर्ण समर्थन रहने प्रतिबद्धता समेत जनाइएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ११ : ०० बजे