७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

जौको सातु र सर्बत खाएर अक्षयतृतीया मनाइँदै



काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षयतृतीया पर्व आज सातु र सर्बत दान एवं सेवन गरी मनाइँदै छ ।

शास्त्रीय विधानअनुसार, बिहान सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी संकल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ ।

पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्बत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।

यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नास नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्बत वैशाखको गर्मीमा अमृतसमान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो ।

गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने धर्मशास्त्रविद् एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रा। तोयराज नेपाल बताउनुहुन्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ ।

“वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षयतृतीया भनिएको हो, ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ,” उनले भने ।

सत्ययुगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नास नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षयतृतीया भनिएको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्ने गर्छ । शिवालयमा जम्मा भएका भक्तजनले पूजा, आराधना एवं दर्शन गरी अक्षयतृतीया पर्व मनाउँछन् ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ९ : ०४ बजे