१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

एसइई नतिजा वैशाख अन्तिम सातामा सार्वजनिक गर्ने तयारी



काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख अन्तिम सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालका अनुसार उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको छ र अहिले प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ। काम यही गतिमा अघि बढे तेस्रो साताको अन्त्यतिरै नतिजा प्रकाशन गर्ने लक्ष्य रहेको उनले बताए।

प्राप्ताङ्क प्रविष्ट भएपछि एक चरण रुजु गरिनेछ। रुजुका क्रममा कुनै प्राविधिक समस्या नदेखिए नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ।

परीक्षा चैत २९ गते सकिएको थियो। बोर्डले परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको छ। सोही अनुसार वैशाख २९ गतेभित्र नतिजा ल्याउने तयारी भइरहेको अर्यालले जानकारी दिनुभयो।

यसअघि १५ दिनमै नतिजा ल्याउने विषयमा छलफल भए पनि हतार गर्दा समस्या आउन सक्ने भन्दै बढीमा एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने निर्णय गरिएको हो।

यस वर्ष नतिजा छिटो बनाउन उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो भने आवश्यक जनशक्ति पनि थप गरिएको थियो।

एसइई चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए, जसमा २ लाख ५७ हजार ६१३ छात्रा र २ लाख ५४ हजार ८०१ छात्र छन्।

परीक्षाका लागि १ हजार ९६६ केन्द्र तोकिएका थिए। जापानमा नेपाली भाषाको पढाइ भइरहेको एक विद्यालयका लागि पनि एउटा परीक्षा केन्द्र तोकिएको थियो, जहाँबाट २३ विद्यार्थी सहभागी भएका थिए।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ११ : २१ बजे