लमजुङ । अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढेको छ । सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले मनाङ हुँदै अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण आयोजना ९एक्याप० इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले अक्टोबरसम्म कुल ३० हजार ६६२ विदेशी पर्यटकले मनाङ भ्रमण गरेको जानकारी दिनुभयो । उहाँका अनुसार १९ हजार १४० पुरुष, ११ हजार ५१२ महिला र अन्य १० पर्यटकले भ्रमण गरेका हुन् ।
आयोजनाका अनुसार, भारतीय पाँच हजार ४९, इजरायलका दुई हजार ७६८, जर्मनका एक हजार ९४८, चीनका एक हजार ८९९ र फ्रान्सका एक हजार ३४ पर्यटकले मनाङको भ्रमण गरेका छन् ।
भुजेलले भन्नुभयो, “अक्टोबरसम्म ११९ देशका नागरिकले मनाङका विभिन्न स्थानको भ्रमण गरेका छन् । जसमा सार्क राष्ट्रका पाँच हजार ९० र अन्य देशका २५ हजार ५७२ पर्यटक रहेका छन् ।”
गत आर्थिक वर्ष २०८२र८३ मा ५ लाख ८ हजार ४ सय ७६ पर्यटक विदेशी पर्यटकले अन्नपूर्ण पदमार्ग घुम्दा भारतका मात्र ३ लाख ७५ हजार ७ सय ९७ जना रहेका थिए । गत वर्ष र यस वर्षको पर्यटकीय मौसममा आएका पर्यटकहरूको तथ्याङ्कले भारतीय पर्यटकको आकर्षण बढिरहेको पाइएको हो ।
अर्णव चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएको अवस्थामा पनि उल्लेख्य पर्यटक आएको उहाँले बताउनुभयो ।
“जोखिमकै अवस्थामा पनि मनाङको सौन्दर्ययता तथा प्राकृतिक, सांस्कृतिक क्षेत्रको भ्रमणमा पर्यटक आएका थिए । अहिले जोखिम हटेपछि पर्यटकको चाप बढ्न थालेको,” उहाँले भन्नुभयो ।
अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ्ला भञ्ज्याङ पास, विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको भ्रमण, हिमलुङ हिमाल र मनास्लु हिमाल अरोहण गर्न पर्यटक आउने गरेका छन् ।
हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज र प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । साथै विश्वकै १० औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गमध्येको अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् ।
पदमार्गको प्रवेशद्वार लमजुङ सदरमुकाम बेँसीसहरबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएको छ ।
काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्छन् । पछिल्लो समय सवारीसाधनमा नै चामे, खाङ्सारसम्म पर्यटक पुग्ने गरेका छन् । कतिपय पर्यटकहरू बेंसीसहरबाट हिँडेरै अन्नपूर्ण पदमार्ग पार गर्ने गरेको एक्याप मनाङका प्रमुख भुजेलले बताए ।





