२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

संवैधानिक परिषद् आफ्नो नियन्त्रण राख्न सरकारले ठूलो प्रपञ्च रच्यो : सभापति थापा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले संवैधानिक परिषद्लाई आफ्नो नियन्त्रणमा राख्न ठूलो प्रपञ्च रचिरहेको आरोप लगाएका छन् ।

बुधबार कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले आफ्नो खल्तीबाट निकालिएको नामलाई प्रधानन्यायाधीश बनाउने जालझेल गरिरहेको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘भोलि ५ बजे संवैधानिक परिषद्को बैठक बोलाइएको छ । प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने विषयमा एउटा सोच बनाएर प्रस्ताव गरेको पात्र पारित गराउने तयारी गरिएको छ । कस्तो जालझेल गरिएको छ भने प्रधानमन्त्री, सभामुख र कानूनमन्त्रीले पारित गरेको कुरा बहुमत हुन्छ भनेर आफ्नो खल्तीबाट निकालिएको नामलाई प्रधानन्यायाधीश बनाउने । यसरी संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्न ठूलो प्रपञ्च रचिएको छ ।’

उनले विगतमा प्रधानमन्त्रीले आफ्नो मान्छेलाई ल्याउन खोज्दा आफूहरुले रोकेको तर अहिले अध्यादेश ल्याइएकाले रोक्न नसकेको बताए ।

सभापति थापाले भने, ‘पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो । यो भन्दा अगाडि पनि आफ्नो मान्छेलाई ल्याउन जालझेल भएको थियो । अहिलेको कदम पनि आपत्तिजनक छ । नेपाली कांग्रेसको यसमा प्रश्न छ ।’

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  १२ : २८ बजे