३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

प्रधानमन्त्री शाह सदनमा अनुपस्थित भएको विषयमा प्रमुख प्रतिपक्षी दलको तीब्र आलोचना !



काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदनमा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएको विषयमा असन्तुष्टि जनाएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सचेतक निश्कल राईले सदनमा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थित भएकोप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रम छलफल हुने बैठकमा सहभागी हुन रुलिङ गर्न सभामुखसँग माग गरे ।

यसैगरी सचेतक राईले राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीको मङ्गलवारको प्रतिनिधि सभाको बैठकमा न्यायाधीशहरूको विषयमा बोलेको भन्दै आलोचना गरेका थिए।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले रास्वपाका संसदीय दलका उपनेता पराजुलीको हिजोको अभिव्यक्ति आफूले हेर्न बाँकी रहेको भन्दै हेरे अगाडी बढ्ने बताए ।

बैठकको आकस्मिक समयमा सांसदहरुले झापा लगायतका देशका विभिन्न भागमा हात्ती आक्रमणका कारण समस्या भइरहेको र वन्यजन्तु र मानव द्वन्द्व बढिरहेको भन्दै व्यवस्थापनमा ध्यान जानु आवश्यक रहेको बताए ।

सांसदहरुले वन्यजन्तुको आक्रमणबाट घाइते भएकाहरूलाई उपचारको लागि राहत व्यवस्था गर्न माग गरे ।

सांसदहरुले देशका विभिन्न भागमा सवारी दुर्घटनामा बढिरहेको भन्दै सडक विस्तार, पूर्वाधार विकास, सवारी अनुगमन र सडक सुरक्षाको प्रभावकारी व्यवस्था गर्न माग गरे ।

बैठकको शुन्य समयमा सांसदहरुले कर्णाली राजमार्गमा सडक दुर्घटना बढ्दै गएको भन्दै दुई लेन सडक विस्तार र सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गर्न माग गरे।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १ : १९ बजे