१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पक्राउ



वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पक्राउ परेका छन् । लिखत सम्बन्धी कसूर र कीर्ते जालसाजी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार भएका सिंह पक्राउ परेका छन् । फिल्मी शैलीमा गत जेठ १४ गते पर्सा अदालतमा झुल्किएर गायब भएका सिंहलाई पर्सा प्रहरीले आज बिहान गिरफ्तार गरेको हो । पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकका अनुसार ठोरी जंगल रिसोर्टबाट उनलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

मेयर सिंहलाई आजै पर्सा जिल्ला अदालत मा हाजिर गराउने तयारी भएको बताइएको छ ।

सोमबार पर्सा प्रहरीले मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई पक्राउ गरी कडा सोधपुछ गरेर नौ घण्टापछि रिहा गरेको थियो।

गत जेठ १२ गते मेयर सिंहको पक्राउ पुर्जीबारे सर्वप्रथम हाम्राकुराले समाचार बाहिर ल्याएपछि अन्य सञ्चारमाध्यमले पनि प्रमुखताका साथ पक्राउ पुर्जी जारीबारे समाचारलाई स्थान दिएपछि मेयर सिंहको स्तुतिगानमा सरिक मिडियाहरूमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरि बस्नेतको हवाला दिएर पक्राउ पुर्जी जारी नभएको समाचार लेखाएर खण्डन गराई भ्रम छर्ने प्रयास गरेका थिए ।

केही घण्टापछि जिल्ला प्रहरी कार्यालय पर्साको ुह्वाट्सएपुबाट सबै पत्रकारहरूलाई मेयर सिंहसहित तीन जनाको नाममा पक्राउ पुर्जी जारी भएको १२ गते मंगलबार राति म्यासेज गएको थियो यो ।

१३ गते बुधबार बिहान दलबलसहित पर्सा जिल्ला अदालतको परिसरभित्र आफ्ना कानूनी सल्लाहकार कमलमोहन पोखरेललाई लिएर मेयर सिंहले “रोड शो” गरेको भिडियो सामाजिक सञ्जालमार्फत भाइरल गर्न लगाएर पर्सा जिल्लामा आफ्नो अगाडि अड्डा अदालत, प्रहरी प्रशासनको कुनै हैसियत नभएको देखावा गरेका थिए ।

मेयर सिंहले आफ्नो सल्लाहकार सत्यराज घिमिरेको उक्साहटमा परेर मिडियामा “तपाईं विरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार भाइरल भएको छ। यसबाट भएको क्षति न्यूनीकरण गर्नका लागि अदालतभित्र डुलेको र आफू अदालतको अनुसन्धान कार्यमा सघाउन आएको म्यासेज जनतालाई दिनुपर्छ, आखिर हामीले अड्डा अदालत, प्रहरी प्रशासनलाई बेलाबेला सहयोग गरेका छौँ नि” भनेर हौस्याएर लगेका थिए ।

यो सबै प्रकरण देखेर गहभरी आँशु काढ्दै मेयर सिंहविरुद्ध जाहेरी दिएका लियाकत अलीले स्थानीय प्रहरी प्रशासनले आफूमाथि अन्याय गरेपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट परमादेश जारी गराएपछि प्रहरीले आधा(अधुरा अनुसन्धान गरेर सरकारी वकिलमा फाइल पठाएको बताएका थिए । उनले सरकारी वकिल मनोजप्रसाद गुप्ता र श्रेस्तेदार प्रभाकर मल्लिकको रवैया देखेर अड्डा अदालत, प्रहरी प्रशासन र अब त सरकारमाथिबाट समेत भरोसा टुट्न थालेको बताएका थिए ।

पर्सा निर्वाचन क्षेत्र नं। १ का सांसद हरि पन्तले १३ गते मेयर सिंहले देखाएको हर्कत र प्रहरी प्रशासनको रवैयाबारे संसदमा कुरा राख्न नसकेको भन्दै नेपाल प्रहरीका आईजी, डीआईजी र पर्साका एसपीसँग कुरा गरेको, दोषी पक्राउ पर्ने भनेर जनसमक्ष सफाइ दिँदै बिहीबार सामाजिक सञ्जालमा लेखेका थिए ।

वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगीले वर्तमान सरकार र स्थानीय प्रहरी प्रशासनको रवैया देखेर तीव्र असन्तुष्टि जनाएका थिए । हाम्राकुरासँग उनले देशमा हुनेखाने र पदमा भएकाहरूका लागि एउटा कानून र गरिब निमुखा जनताका लागि अर्को कानून भएको पुष्टि पक्राउ पुर्जी जारी भएका वीरगञ्जका मेयर राजेशमानको पर्सा जिल्ला अदालत परिसरमा गरेको सयरसपाटाको दृश्यले स्पष्ट पारेको बताएका थिए ।

किर्ते जालसाजी जस्तो गम्भीर फौजदारी कसुर लागेका अभियुक्त, चाहे त्यो स्थानीय तहको प्रमुख किन नहोस्, कानून सबैका लागि बराबर भएको भन्दै मेयर सिंहको यो हर्कतले स्थानीय प्रहरी प्रशासनका प्रमुखलाई वस्त्रहीन बनाएको नेपाली कांग्रेस पर्सा क्षेत्र नं। २ का सभापति मोहम्मद सहाबुद्दिनको भनाइ रहेको छ।

इन्द्रावती नगरपालिका वडा नं। १० निवासी रीता भट्टराई काठमाडौँ खिचापोखरीस्थित टोक्यो स्टोरमा काम गर्दाको बखत स्टोर नजिकै रहेको भारत होटेलमा राजेशमान सिंह बस्दा ताका माया(पिरती बसेको हो । रीताले राजेशमान सिंहसँग भेट्नुभन्दा अगाडि नै छोरी रुबिनाको जन्म भइसकेको सिंह निकट स्रोतको दाबी छ ।

रीता भट्टराईका श्रीमान भारतीय मूलका भएको र ट्याक्सी चलाउने ड्राइभर पेशामा संलग्न रहेको तथा हाल उनको मृत्युसमेत भइसकेको दाबी एकथरिको रहेको छ । रीताका श्रीमान् को हुन् भनी यकिन भइनसकेको अवस्थामा किर्ते कागजात तयार गरी राजेशमान सिंहले जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता दिलाएका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  ८ : ४९ बजे