काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो आधिकारिक वेबसाइटलाई अपांगतामैत्री बनाउँदै सबै नागरिकका लागि डिजिटल बैंकिङ सेवामा समान पहुँच सुनिश्चित गर्ने महत्वपूर्ण कदम चालेको छ।
नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार दृष्टिविहीन तथा विभिन्न प्रकारका अपांगता भएका व्यक्तिहरूले बैंकका डिजिटल सेवा सहज रूपमा प्रयोग गर्न सकून् भन्ने उद्देश्यले बैंकले वेबसाइटमा विभिन्न पहुँचमैत्री ९ब्अअभककष्दष्ष्तिथ० सुविधा थप गरेको जनाएको छ।
नयाँ अपडेटअन्तर्गत स्क्रिन रिडर सपोर्ट, फन्ट साइज परिवर्तन गर्ने सुविधा, उच्च कन्ट्रास्ट विकल्प लगायतका विशेष सुविधाहरू समावेश गरिएका छन्। यी सुविधाले दृष्टि तथा अन्य प्रकारका शारीरिक चुनौती भएका सेवाग्राहीलाई वेबसाइट प्रयोग गर्न थप सहज बनाउने विश्वास बैंकले लिएको छ।
बैंकका अनुसार यो पहल डिजिटल समावेशीकरण को अवधारणालाई व्यवहारमा उतार्ने महत्वपूर्ण प्रयास हो। आधुनिक प्रविधिको उपयोगमार्फत सबै वर्ग र समुदायका नागरिकलाई समान अवसर प्रदान गर्ने लक्ष्यअनुरूप बैंकले सेवा विस्तारलाई निरन्तरता दिइरहेको जनाएको छ।
कृषि विकास बैंकले सुरक्षित, सहज र पहुँचयोग्य बैंकिङ सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउँदै आगामी दिनमा समेत ग्राहककेन्द्रित प्रविधिमैत्री सेवाहरू विकास गर्दै लैजाने जनाएको छ।





