१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

सोलुखुम्बुमा हिमपात र वर्षा,’पर्यटकलाई सतर्क रहन र यात्रा रोक्न प्रशासनको आग्रह’



सोलुखुम्बु। विकसित ‘अर्नव’ चक्रवातका कारण हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन प्रभावित भएको छ। बिहीबार बेलुकीदेखि माथिल्लो खुम्बु क्षेत्रमा हिमपात र तल्लो भेगमा निरन्तर वर्षा भइरहेको छ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार खुम्बु क्षेत्रका डिङ्बुचे, लोबुचे, गोक्यो र खुम्जुङ आसपासका स्थानमा हिमपात जारी छ। प्रहरी नायब उपरीक्षक ९डीएसपी० नवीन राजा बुढाथोकीका अनुसार डिङ्बुचेभन्दा माथिल्लो भेगमा एक फिटभन्दा बढी हिमपात भइसकेको छ। यद्यपि, हालसम्म जिल्लाका मुख्य सडकहरू अवरुद्ध नभएको र कुनै मानवीय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ।

मौसममा आएको अचानक परिवर्तनसँगै सम्भावित हिमपहिरो र हिमआँधीको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले खुम्बु क्षेत्रमा पर्यटक, पथप्रदर्शक तथा स्थानीयलाई सतर्क रहन अपिल गरेको छ।

प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरले जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार आगामी दुई दिनसम्म माथिल्लो खुम्बु क्षेत्रमा पदयात्रा, हवाई उडान तथा हिमाल आरोहणजस्ता गतिविधि स्थागित गर्न निर्देशन दिइएको जानकारी दिनुभयो।

प्रशासनका अनुसार बिहीबार बिहानसम्म नाम्चेभन्दा माथिल्लो क्षेत्रमा ७३० जनाभन्दा बढी पर्यटक पुगेका छन्। प्रतिकूल मौसमका कारण जोखिम बढेपछि उनीहरूलाई पछिल्लो मौसमी अवस्थाबारे सूचित गराउँदै नाम्चे र आसपासका सुरक्षित स्थानतर्फ फर्काउने काम भइरहेको छ।

सम्भावित जोखिम, उद्धार र सुरक्षाका लागि प्रहरीसहितका सुरक्षा निकायलाई उच्च सतर्कता ९हाई अलर्ट० मा राखिएको छ भने खुम्बु पासाङल्हामु गाउँपालिका र अन्य सरोकारवाला निकायलाई समन्वय गर्न आग्रह गरिएको छ।्

प्रकाशित मिति : १४ कार्तिक २०८३, शुक्रबार  २ : ३३ बजे