ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक–धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार ९असार ६० राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ ।
ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काले जावलाखेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको बताए । तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । प्रत्येक वर्षझैँ यसपालि पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिने उनले उल्लेख गरे ।
वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथयात्रामा भगवान् रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मंगलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो । यसैक्रममा रथलाई जावलाखेल पुर्याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको वडाध्यक्ष खड्काले जानकारी दिए ।
िसंस्कृतिविद्का अनुसार, वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालको प्राचीन तथा विशिष्ट सांस्कृतिक सम्पदामध्ये एक हो । राजतन्त्रकालमा भोटोजात्रामा राजा उपस्थित हुने परम्परा रहेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिले उक्त समारोहमा सहभागिता जनाउँदै आएका छन् ।
भोटो देखाउने जात्रा सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखी बाजागाजासहित जावलाखेलबाट बुङ्मतीस्थित मच्छिन्द्रबहालमा लगेर विराजमान गराइने परम्परा रहेको वडाध्यक्ष खड्काले उल्लेख गरे ।
उनले यस वर्षको जात्रा शान्तिपूर्ण, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको बताउँदै भोटोजात्रामा सहभागी हुन आउने भक्तजन तथा दर्शकलाई आवश्यक सुरक्षा र व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे । साथै, उनले जावलाखेल क्षेत्रमा फुटपाथमा व्यापार नगर्न सम्बन्धित सबैलाई आग्रह गरे । रासस





