३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

कृषि विकास बैंकको उपलब्धि: लगातार दोस्रो पटक सिल्भर अवार्ड



काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था द्वारा प्रदान गरिने प्रतिष्ठित नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५ अन्तर्गत वित्तीय सेवा क्षेत्रको विधामा सिल्भर अवार्ड प्राप्त गरेको छ। यससँगै बैंकले लगातार दोस्रो वर्ष उत्कृष्ट प्रदर्शन कायम राख्दै २०२४ मा सिल्भर र २०२५ मा पुनः सिल्भर अवार्ड जित्न सफल भएको हो।
बैंकले आफ्नो वार्षिक प्रतिवेदनमार्फत वित्तीय विवरण, संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा सरोकारवालामुखी सूचना प्रस्तुतिलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा समेटेको मूल्याङ्कनका आधारमा उक्त सम्मान प्राप्त गरेको जनाएको छ ।
बीपीए अवार्डले संस्थाहरूको वार्षिक प्रतिवेदनको गुणस्तर, वित्तीय पारदर्शिता तथा उत्कृष्ट प्रस्तुतीकरणलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। कृषि विकास बैंकले वित्तीय पारदर्शिता, सुशासन र गुणस्तरीय वित्तीय प्रतिवेदन प्रस्तुतिमा निरन्तर उत्कृष्टता कायम राख्दै आएको बैंकको दाबी छ।
काठमाडौंस्थित होटल याक एण्ड यतिमा आयोजित विशेष समारोहमाका अध्यक्ष निल बहादुर सारुले बैंकका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेलाई उक्त अवार्ड प्रदान गरेका थिए।
बैंकका अनुसार यस सम्मानले संस्थागत सुशासन, उत्तरदायी वित्तीय अभ्यास तथा पारदर्शिताप्रतिको बैंकको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ। आगामी दिनमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुरूप प्रभावकारी, विश्वसनीय र पारदर्शी वित्तीय सूचना उपलब्ध गराउँदै गुणस्तरीय संस्थागत अभ्यासलाई निरन्तरता दिने बैंकले जनाएको छ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ८ : ३५ बजे