५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

निजी शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णयको गगन थापाद्वारा स्वागत



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शुल्क लागू नगर्ने निर्णयको स्वागत गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले उक्त व्यवस्था प्रारम्भदेखि नै अनुपयुक्त रहेको भन्दै आफूहरूले त्यसको विरोध गर्दै आएको बताएका छन्। उनले निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न नहुने उल्लेख गर्दै धेरैका लागि निजी सेवा विलासिता नभई बाध्यता भएको बताएका छन्। थापाले निजी क्षेत्र देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार भएको उल्लेख गर्दै सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले समस्याको समाधान नगर्ने धारणा राखेका छन्। उनका अनुसार समता शुल्क समानताको नीति नभई असमानतालाई अझ बढावा दिने व्यवस्था थियो।
सरकारले आर्थिक तथा सामाजिक यथार्थलाई स्वीकार गर्दै उक्त व्यवस्था खारेज गरेको भन्दै उनले यो निर्णय सही भएको प्रतिक्रिया दिएका छन्। साथै उक्त निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पनि रीतपूर्वक पूरा गर्न उनले आग्रह गरेका छन्।

सभापति थापाले सरकारलाई बिजुलीमा लगाइएको भ्याटजस्ता अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि पुनरावलोकन गर्दै आमनागरिकको मर्मअनुसार निर्णय लिन आग्रह गरेका छन्।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ५ : ५२ बजे