काठमाडौं -कलंकी–नागढुंगा सडकखण्डअन्तर्गत नैकापमा अत्याधुनिक स्मार्ट पेलिकन ट्राफिक बत्ती जडान हुने भएको छ।चन्द्रागिरि नगरपालिका र ब्राइट फ्युचर माध्यमिक विद्यालयबीच मंगलबार यसका लागि समझदारी भएको हो। नगरप्रमुख घनश्याम गिरी र विद्यालयका प्रधानाध्यापक दयाराम थापाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। बत्ती जडानको सम्पूर्ण खर्च विद्यालयले व्यहोर्नेछ भने सञ्चालन तथा व्यवस्थापन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्नेछ। यो प्रणालीमा पैदलयात्रीले बटन थिचेपछि वा सेन्सरले उपस्थितिको संकेत गरेपछि मात्र सवारीसाधनका लागि रातो बत्ती बल्ने भएकाले पैदलयात्रीले सुरक्षित रूपमा सडक पार गर्न सक्नेछन्। यसले अनावश्यक ट्राफिक जामसमेत घटाउने अपेक्षा गरिएको छ। नगरपालिकाले विद्यालय, अभिभावक र सर्वसाधारणको सडक सुरक्षा अभिवृद्धिसँगै निजी क्षेत्रको सामाजिक उत्तरदायित्वमार्फत पूर्वाधार विकासमा यो पहल उदाहरणीय हुने विश्वास व्यक्त गरेको छ।
गत असारमा सम्पन्न भएको बिद्यार्थीसँग मेयर टेलिभिजन कार्यक्रममा ब्राइट फ्युचर माध्यमिक विद्यालयका बिद्यार्थीले सडक सुरक्षा र सडक अनुशासनका बारे नगरप्रमुखलाई जिज्ञासा राखेका थिए । मुख्य सडकसँग जोडिएका बिद्यालयमा क्षेत्रमा ट्राफिक लाइट प्रयाप्त नहँदा बिद्यार्थीले सास्ती ब्यहोर्नुपरेको र त्यसको लागि नगरपालिकाले पहल गरिदिन आग्रह गरेका थिए ।






