७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध प्रहार भयो : प्रचण्ड



काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा गणतन्त्र स्थापना भएपछि हासिल भएका उपलब्धिमाथि योजनाबद्ध रूपमा नकारात्मक प्रचार र प्रहार भइरहेको बताएका छन्।
बिहीबार ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गणतन्त्रपश्चात राजनीतिक, सामाजिक तथा भौतिक पूर्वाधारको क्षेत्रमा भएको अभूतपूर्व विकासलाई नियोजित रूपमा अवमूल्यन गर्ने प्रयास भइरहेको बताए। उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका प्रगतिलाई समेत अपमानित गर्ने किसिमले झूटो प्रचार गरिएको आरोप लगाए।
अध्यक्ष दाहालले पुष्पलाल स्मृति दिवसलाई केवल श्रद्धाञ्जली अर्पण गर्ने दिन मात्र नभई गणतन्त्रका उपलब्धि र परिवर्तनमाथि भइरहेका प्रतिगामी हमलाहरूका विरुद्ध नयाँ अभियान सुरु गर्ने सङ्कल्पको रूपमा लिनुपर्नेमा जोड दिए। उनले भने, “देशमा जुन प्रतिप्रतिक्रान्तिको हावा चलिरहेको छ र गणतन्त्रका उपलब्धिहरू तथा पुष्पलालको विचारअनुसार भएका परिवर्तनमाथि हमला गरिरहेको छ, यसको विरुद्ध फेरि एउटा नयाँ अभियान सञ्चालन गर्ने सङ्कल्पको दिन हो।”

त्यस अवसरमा उनले पुष्पलाल प्रतिष्ठानको भौतिक संरचनाको पुनर्निर्माणसँगै वैचारिक पुनर्जागरणलाई पनि प्राथमिकता दिनुपर्ने बताए। सामन्तवाद, साम्राज्यवाद र निरङ्कुशताविरुद्ध सङ्घर्ष गर्नसक्ने बलियो वैचारिक आधार तयार पार्नका लागि नेपालको इतिहास, वर्गीय संरचना र सामाजिक विकासक्रमबारे गहन अध्ययन तथा अनुसन्धान आवश्यक रहेको उनको भनाइ थियो।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  २ : २५ बजे