१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

छिन्नमस्तामा मल अभाववारे अध्यक्ष चौधरीले गरे कृषि मन्त्रीको ध्यानाकर्षण, शीघ्र आपूर्तिको प्रतिबद्धता



राजविराज । छिन्नमस्ता गाउँपालिकामा लामो समयदेखि देखिएको रासायनिक मल अभावको समस्या समाधानका लागि गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले कृषि तथा पशुपन्छी विकास मन्त्रीसँग भेट गरी ध्यानाकर्षण गराएका छन्।
अध्यक्षले चौधरीले गाउँपालिकामा समयमै रासायनिक मल उपलब्ध हुन नसक्दा किसानहरू गम्भीर समस्यामा परेको बताएका छन्। कृषि मुख्य पेशा भए पनि आवश्यक समयमा मल नपाउँदा खेतीपाती प्रभावित भइरहेको उनले उल्लेख गरेका छन्।
उनका अनुसार स्थानीय तहले कानुनी व्यवस्थाअनुसार आफैं रासायनिक मल खरिद गरी वितरण गर्न नसक्ने भएकाले संघीय तथा प्रदेश सरकारले उपलब्ध गराउने कोटामै निर्भर रहनुपर्ने अवस्था छ। यसले कृषि प्रधान देशको अवधारणालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न चुनौती थपिएको उनको भनाइ छ।
यस विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीसँग भेट गरी समस्या समाधानका लागि आग्रह गरिएको अध्यक्षले बताएका छन्। मन्त्री चौधरीले साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका सम्बन्धित निकायलाई उपलब्ध रहेको मल तत्काल जिल्लामा पठाउने व्यवस्था मिलाउन निर्देशन दिएको तथा राजविराजस्थित कार्यालय प्रमुखलाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिएको अध्यक्ष चौधरीले बताए । मन्त्रीले छिन्नमस्ताका किसानलाई आवश्यक रासायनिक मल यथाशीघ्र उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको पनि अध्यक्षले उल्लेख गरेका छन्।
अध्यक्षले किसानको हित, समयमै मलको उपलब्धता र कृषि उत्पादनको संरक्षणका लागि आफू निरन्तर पहल गरिरहने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित निकायले यस विषयलाई उच्च प्राथमिकताका साथ लिएर छिट्टै समाधान गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ९ : २७ बजे