२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

मुग्लिनमा फेरि पहिरो, नारायणघाट–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध



चितवन । नारायणघाट–मुग्लिन सडकखण्डमा फेरि पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन बजार नजिकै अचानक पहिरो खस्दा सडक दुवैतर्फबाट अवरुद्ध बनेको हो। पहिरो हटाउन आवश्यक डोजर तथा अन्य उपकरण परिचालन गरिसकिएको र सडक खुलाउने प्रयास भइरहेको कार्यालयले जनाएको छ।

यसअघि सोमबार बिहान सिमलताल क्षेत्रमा लेदोसहितको पहिरो झरेको थियो। त्यस्तै तुइन खोला र नाम्सी खोलामा माथिबाट ढुंगा खस्दा केही समय सडक एकतर्फी मात्र सञ्चालनमा आएको थियो।

प्राविधिक टोलीको प्रयासपछि बिहान करिब १० बजेबाट यातायात सञ्चालनमा आए पनि मुग्लिनमा पुनः पहिरो खसेसँगै सडक फेरि पूर्ण रूपमा बन्द भएको हो।

सडक अवरुद्ध भएपछि नारायणघाट–मुग्लिन हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई वैकल्पिक व्यवस्था अपनाउन वा सडक सञ्चालनसम्बन्धी आधिकारिक जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ३ : ३१ बजे