२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिदै, बोलाए संसदीय दलको बैठक



काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहले बुधबार दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

बजेटका विषयमा विवाद बढेपछि मुख्यमन्त्री शाहले ३१ असारमा एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसै दिन एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका शाह बिहीबार स्वतः पदमुक्त हुने अवस्थामा छन् ।

तर, अल्पमतमा परेको २९औँ दिनमा शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका हुन् । कांग्रेसकी प्रमुख सचेतक सरस्वती खड्काका अनुसार बैठकमा प्रदेश सरकारको आगामी विषयमा निर्णय हुनेछ । उनका अनुसार मुख्यमन्त्री शाहले राजीनामा दिने तयारी गरेका छन् ।

प्रदेश प्रमुखलाई सोझै राजीनामा दिने वा प्रदेश सभामा सम्बोधन गरेर राजीनामा घोषणा गर्दै प्रदेश प्रमुखसमक्ष पत्र बुझाउने भन्ने विषयमा भने शाहले दलका नेताहरूसँग परामर्श गर्नेछन् ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  १२ : २४ बजे