३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

बागलुङका ४ सय ९१ जनामा डेंगु सङ्क्रमण



बागलुङ । बागलुङमा डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । साउन महिना यता यहाँका चारसय ९१ जना डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमणको केन्द्र बनेको सदरमुकाम बागलुङ बजार र आसपासका क्षेत्रमा मात्रै सङ्क्रमितको संख्या तीनसय ५३ पुगेको छ ।

धौलागिरि प्रादेशिक अस्पतालमा ज्वरो देखिएपछि जाँच गर्न आएहरुको प्रयोगशाला परीक्षण गर्दा ४ सय ३५ जना डेंगु पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेका अनुसार सबैभन्दा धेरै बागलुङ नगरक्षेत्र र सबैभन्दा कम ताराखोला र बरेङ गाउँपालिकाका एक–एक जनामा डेंगु देखिएको छ । डेंगु पुष्टि भएर सामान्य अवस्थाका बिरामीलाई औषधी सिफारिस गरेर फ्लोअपमा बोलाइएको छ । जटिल अवस्थाका बिरामीलाई स्वास्थ्य संस्थामै भर्ना गरेर उपचार गरिएको घिमिरेले जानकारी दिनुभयो ।

जनस्वास्थ्यले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गलकोटका ४१, जैमिनीका १६, ढोरपाटन नगरपालिकाका १२, काठेखोलाका २८, ताराखोलाका २, बडिगाडका ३, निसीखोलाका ५, तमानखोलाका २ र बरेङ गाउँपालिकाका २ जनामा डेंगु पुष्टि भएको छ । अन्य जिल्लाको २७ जना डेंगु देखिएको जनस्वास्थ्यले जनाएको छ ।

प्रयोगशालामा जाँच गर्दा बुर्तिवाङ जिल्ला अस्पतालमा १७, कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा २, गलकोट नगर अस्पतालमा ३६ र हग्दिशिर स्वास्थ्य चौकी बरेङमा १ जनामा डेंगु पुष्टि भएको हो ।

निजी स्वास्थ्य संस्थामा डेंगु जाँच गराएका बिरामीहरुको एकीन तथ्याङ्क नहुँदा बागलुङमा डेंगुका बिरामी धेरै रहेको जनस्वास्थ्यको अनुमान छ । तीव्र गतिमा डेंगु फैलिएपछि ‘खोज र नष्ट गर’ अभियान चलाइरहेको जनस्वास्थ्य कार्यालयले सचेत हुन र सरसफाइमा ध्यान दिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

छोटो समयमै समुदायस्तरमा डेंगु सङ्क्रमण देखिनु जनस्वास्थ्यको दृष्टिले जोखिमपूर्ण मानिन्छ । लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने, लार्भा बन्न नदिन पानी जम्न नदिन निरन्तर सरसफाइको लागि समुदायमा जनचेतना फैलाउन आवश्यक रहेको घिमिरेले बताउनुभयो ।

डेंगु भाइरल रोग भएकोले लक्षण देखिएमा घरमै अनुमान गरेर औषधी सेवन नगरी स्वास्थ्य संस्थामा गई चिकित्सकको परामर्श लिन धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल अधिकृत डा। सन्दिप केसीले आग्रह गर्नुभएको छ ।

ज्वरो घटेको २४ देखि ४८ घण्टाभित्र गम्भीर अवस्था देखिन सक्ने भएकाले लगातार बान्ता हुने, पेटमा अत्यधिक दुखाइ, नाक, गिजा वा दिसापिसाबबाट रगत आउने, कमजोरी, चक्कर लाग्ने, सास फेर्न गाह्रो हुने, हातखुट्टा चिसो हुने र पिसाबको मात्रा कम हुने लक्षण देखिएमा तुरुन्त अस्पताल पुग्नुपर्ने डा। केसीको सुझाव छ ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  १ : १९ बजे