काठमाडौं । रौतहटको गौरमा रातिको समयमा भएको गोली प्रहारको घटनामा एक युवक गम्भीर घाइते भएका छन्।। आक्रमणकारीको पहिचान हुन सकेको छैन ।
गौर नगरपालिका–४ गढवा टोलका २८ वर्षीय राकेश यादवमाथि सोमबार राति सवा ९ बजे गोली चलाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पानी ट्यांकी नजिक रहेका बेला उनलाई अज्ञात समूहले निशाना बनाएको थियो । प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा ७।६२ एमएम पेस्तोलका तीनवटा खाली खोका बरामद भएका छन् ।
गोलीका छर्रा लागेर यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी शरीरका विभिन्न भागमा चोट लागेको छ । घटनालगत्तै उनलाई उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल लगिएको थियो ।
त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जको नेपाल मेडिसिटी बयोधा अस्पताल रिफर गरिएको हो । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । युवकमाथि भएको आक्रमणको कारण खुलेको छैन । घटनामा संलग्न व्यक्तिको पहिचान तथा आक्रमणको उद्देश्य पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ ।





