६ भदौ २०८३, शनिबार | Sun Aug 23 2026

कांग्रेसको वैधानिकतामा असर नपर्ने गरी फैसला आउने विश्वास छ : विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतबाट कांग्रेसको वैधानिकतालाई असर नपर्ने गरी फैसला आउनेमा विश्वस्त रहेको बताएका छन् ।

मंसिरभित्र महाधिवेशन नगरे कांग्रेसको वैधानिकता नरहने भन्दै उनले न्यायाधीशहरूले यो कुरालाई विचार गरेरै फैसला दिनेमा आफू विश्वस्त रहेको उनले बताए । शनिबार प्रदीप गिरिको स्मृतिमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ुुकांग्रेसको महाधिवेशन मंसिरभन्दा उता जान पाउने सुविधा हामीलाई छैन । त्यसैले समान्नित सर्वोच्च अदालतमा बसेर न्यायाधीशहरूले कमल चलाउँदै गर्दा नेपाली कांग्रेस पार्टीको असोज १६ मा सुरु हुने महाधिवेशनको प्रक्रिया सुरु भएन भने मंसिरभन्दा उता जाने अवस्था नभएपछि पुरानो पार्टीको वैधानिकता उपर गम्भीर प्रश्न उब्जिन्छ भन्ने कुरा ख्याल गर्नुहुनेछ,ुु उनले भने ।

नेपालको संविधानको धारा २६९ को उपधारा चारले राजनीतिक दलले पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको छ । विशेष परिस्थितिमा थप ६ महिना समय लिन सक्ने प्रावधान संविधान उल्लेख छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १६ मा पनि यही विषय उल्लेख छ ।

मंसिरउता महाधिवेशन धकेल्न नमिल्ने भएकाले सबै पक्षसँग संवाद गरेर निर्धारित मितिमै महाधिवेशन गर्नेतर्फ पार्टी अग्रसर हुने उनले बताए । आन्तरिक विवादलाई लिएर पार्टीको वैधानिकता नै संकटमा पार्न नहुने उनले उल्लेख गरे ।

प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार  ९ : १४ बजे