काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले टीकापुर घटनाबारे गठित लाल आयोगको प्रतिवेदन थप विलम्ब नगरी सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
आयोगले प्रतिवेदन बुझाएको एक दशक पुग्न लाग्दा पनि सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य बाहिर आउन नसकेको र पीडितहरू न्यायबाट वञ्चित भएको थापाले बताएका छन् ।
सोमबार (भदौ ८) सामाजिक सञ्जालमार्फत थापाले २०७३ सालमा गठित उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग)को प्रतिवेदन अझै सार्वजनिक नगरिनु दुःखद भएको उल्लेख गरेका छन् ।
उनले विगतका सरकारले पनि प्रतिवेदन सार्वजनिक गर्न नसकेको भन्दै त्यसलाई देखाएर अहिले पनि प्रतिवेदन गोप्य राखिरहनु उचित नहुने बताएका छन् ।
“विगतका सरकारबाट पनि यो काम हुन सकेन । तर, विगतको कमजोरी आज पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बन्न सक्दैन, बन्नु हुँदैन,” थापाले भनेका छन् ।
यसपटक प्रतिवेदन सार्वजनिक गर्ने विषय सरकारको प्रतिबद्धतामा मात्र सीमित नहोस् भन्दै उनले तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
न्याय पाउनु पीडितहरूको अधिकार भएको उल्लेख गर्दै थापाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई ढिलाइ नगर्न आग्रह गरेका छन् ।
राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै आए पनि सत्तामा पुगेपछि कार्यान्वयन गर्न नसकेको उनको भनाइ छ ।






