काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटो सुधार योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन् । मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले कृषिमा उत्पादन वृद्धि गर्न माटो सुधार योजनालाई अगाडि बढाएको बताइन् ।
माटो सुधार योजनासँगै कृषि उत्पादनमा, बजारीकरण र व्यवसायसँग जोड्न किसान सूचीकरण र डिजिटल मार्केटप्लेस निर्माणका योजनालाई पनि प्राथमिकतामा राखेको उनको भनाइ छ ।
उर्वर भूमिमा भइरहेको कङ्क्रिटकरण रोक्दै कृषि उत्पादनका लागि जमिनको उपयोग बढाउने विषयमा सरकारले माटो सुधार योजनालाई अघि सारेको उनको भनाइ छ ।
यस्तो छ मन्त्री चौधरीको भनाइ
हामीले किसान सूचीकरणलाई एकदमै धेरै प्राथमिकता दिएर अगाडि बढाएका छौँ । किसान सूचीकरणमार्फत किसानहरूले पाउने परिचयपत्रमा सबै कुराको डिटेल हुन्छ, त्यसले हामीलाई ट्र्याकिङ गर्न सजिलो हुन्छ, किसानले कस्तो खालका प्रडक्टहरू ल्याउनुहुन्छ, त्यसमा हामीले कसरी सहयोग गर्न सक्छौँ भन्नको लागि हामीले सेतुहरू निर्माण गर्दै छौँ ।
कार्ययोजनाहरू बन्ने क्रममा छन्, अझै इफेक्टिभ बनाउन हामीले विगतका सबै योजनाहरू, कार्यविधिहरू फेरि रि–एनालाइसिस पनि गर्दै छौँ । किसान सूचीकरण सँगसँगै हामीले एप्लिकेसनहरू डेभलप गरेर मार्केटप्लेसहरू बनाउने योजना पनि बनाइराखेका छौँ । त्यो चाहिँ अन्डर कन्स्ट्रक्सनमै छ ।
हामीले माटो सुधार योजना बनाउने भनेका छौँ । यो माटो सुधार योजनाका लागि हामीले विशेष गरेर अर्गानिक जैविक पदार्थहरूलाई माटो सुधारमा प्रयोग गर्छौं, हामीले त्यसको कार्ययोजना बनाएर काम गरिररहेका छोँ । माटो सुधार योजनाको लागि सरकारले काम गर्दै छ । हाम्रो इन्स्टिट्युटहरूले रिसर्च गर्दाखेरी हाम्रो माटोको पीएच त साँच्चिकै घटिसकेको छ, अब माटो माटोलाई बिगार्न समय लाग्दैन तर त्यो सुधार्नलाई दशकौँ वर्ष लाग्न सक्छ । त्यसका निमित्त पनि हामीले कार्ययोजना बनाएर नेपाल सरकार जैविकतातिर, प्रांगारिकतातिर अथवा हामीले अर्गानिकतिर जानुपर्छ भन्ने त्यो मोडलमा हामी काम गर्दै छौँ ।





