काठमाण्डौ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ ।
आपत्कालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारका साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकाले अनावश्यक काममा माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको हो ।
कम प्रभावित, अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो ।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित क्षेत्रबाट अहिलेसम्म २५२ विदेशी र ३ हजार ३४४ नेपाली गरी ३ हजार ५९६ जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क छ ।
प्राधिकरणले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सर्वसाधारणलाई अपील गरेको छ । धादिङबेँसी–परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार र केउरिनीटार हुँदै मास्टार भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ ।
त्यस्तै रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर–ढिकुरे–चौघडा–आँप्र–नर्जा–लच्याङ–सरमर्थाले–पाटीखर्क हुँदै बोगटीटार ९पासाङ ल्हामु राजमार्ग, रसुवा०–कालिकास्थान–धुन्चेसम्म चार चक्के साना गाडी सञ्चालन गरिएको छ ।





