१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

बाढीपीडितको उद्धार–राहत प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग, सांसदको तलब सहयोग गर्ने निर्णय



काठमाडौं – नेपाली कांग्रेस संसदीय दलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ।

संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा आज सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको भन्दै तत्काल समन्वयात्मक ढंगले काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको हो।

बैठकले भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ता नागरिकको खोजी, उद्धार, घाइतेको उपचार, विस्थापित परिवारको पुनःस्थापना तथा पीडितलाई मनोपरामर्शलाई उच्च प्राथमिकता दिन आग्रह गरेको छ।

कांग्रेसले बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, सञ्चार तथा अन्य अत्यावश्यक पूर्वाधार तत्काल पुनःस्थापना गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन प्रभावकारी कदम चाल्न पनि सरकारसँग माग गरेको छ।

सांसदको तलब बाढीपीडितलाई

बाढीपीडितको तत्काल उद्धार तथा राहतका लागि नेपाली कांग्रेस संसदीय दलका नेताले एक महिनाको तलब र कांग्रेसका संघीय सांसदहरूले १५ दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेका छन्।

बैठकले बाढी प्रभावित जिल्लाका समस्या तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा संसद्मा गहन छलफल आवश्यक रहेको भन्दै सदन सुचारु गर्न पनि आग्रह गरेको छ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि आपूर्ति व्यवस्थाप्रति चिन्ता

बाढीका कारण देशको प्रमुख ‘लाइफलाइन’का रूपमा रहेको पृथ्वी राजमार्ग अवरुद्ध हुँदा यातायात तथा आपूर्ति व्यवस्था प्रभावित हुन सक्ने भन्दै कांग्रेसले सुरक्षित वैकल्पिक सडक व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ।

दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि तथा कालोबजारी हुन सक्ने सम्भावनाप्रति सचेत गराउँदै कांग्रेसले नियमित आपूर्ति सुनिश्चित गर्न, कालोबजारी नियन्त्रण गर्न र बजार अनुगमनलाई कडाइ गर्न माग गरेको छ।

बैठकले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। बेपत्ताको सकुशल उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कांग्रेसले राजनीतिक दल, संघ–संस्था, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकलाई उद्धार, राहत तथा पुनःस्थापनाको अभियानमा एकजुट हुन अपिलसमेत गरेको छ।

संसदीय दलले बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा खटिएका स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, राष्ट्रसेवक कर्मचारी, संघसंस्था, सञ्चारमाध्यम तथा स्वयंसेवक र सहयोग गर्ने मित्रराष्ट्र तथा विभिन्न संस्थाप्रति आभार व्यक्त गरेको छ।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  ८ : १८ बजे