काठमाडौं । चिनीको मूल्य नघट्दा उपभोक्ता मर्कामा परेका छन् । विराटनगरको सीमावर्ती भारतको जोगबनीमा चिनीको मूल्य घटे पनि नेपाली बजारमा भने घट्न सकेको छैन ।
सरकारले १ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट तथा त्यसमा पनि साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य कम्पनीलाई मात्र २५ हजार मेट्रिक टन आयातको अनुमति दिएकाले चिनी अभावका कारण मूल्य नघटेको आयातकर्ताहरू बताउँछन् । दसैँअगाडि चिनी ल्याउन नसके मूल्य नघट्ने चिनी आयातकर्ता जीवन रिजालले बताए ।
साल्ट ट्रेडिङ कर्पोरेसनले २५ हजार मेट्रिकटन चिनी आयातको प्रक्रिया सुरु गरिसकेको बताइएको छ । भारतले दिने डेढ लाख मेट्रिकटन कोटाको चिनीमध्येबाट आयात हुन लागेको हो ।
सीमावर्ती वीरगन्जसम्म पुर्याउने गरी भारतीय ५७ रुपैयाँ प्रतिकिलोमा आयात गर्न लागिएको चिनी आएपछि मूल्य केही कम हुन सक्ने व्यापारीहरूले बताएका छन् ।





