२४ भदौ २०८३, बुधबार | Wed Sep 9 2026

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के-के छन् कार्यसूचि



काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत हुने कार्यक्रम छ ।

यस्तै, बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ कार्यक्रम रहेको छ ।

यसैगरी, कानुनमन्त्री गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ । विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले सो प्रतिवेदन पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।

यस्तै, बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गरानेछन् ।

यसैबिच, आज अर्थ समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ९ : ०० बजे